दैलेख : करिव दुई महिनाको अवधिमा दैलेखमा २ हजार ५ सय ८८ जना नयाँ मतदाता थपिएका छन् । ११ वटा स्थानीय तह रहेको दैलेखमा असार र साउँनको १९ गतेसम्म स्थानीय तहको निर्वाचन पछि २ हजार ५ सय ८८ मतदाता थपिएका हुन् ।
असार १ गतेदेखि साउन १९ गतेसम्म १ हजार २ सय १२ जना महिला र १ हजार ३ सय ७६ जना पुरुष गरी दैलेखमा २ हजार ५ सय ८८ जना नयाँ मतदाता थपिएका दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले बताइन् ।
बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन ताका दैलेखमा १ लाख ५८ हजार ४ सय ८९ जना मतदाता रहेका थिए । करिव दुई महिनाको अवधिमा थपिएका २ हजार ५ सय ८८ पिएका छन् । निर्वाचन अधिकारी काउचाले नयाँ थपिएकामा मतदाता संख्या थपघट हुन सक्ने वताइन् । ‘केही नामसारी गर्नुपर्ने हुन्छ, कोही यही नासारी गरी आउनुहुन्छ, दुई महिनामा थपिएको संख्या मोटामोटि भएकाले थपघट हुन सक्छ’, काउचाले भनिन् ।
यस्तै, दैलेख जिल्ला भित्र रहेका ४ वटा मतदानस्थल परिवर्तन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठीत जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले गत साउन १२ गते मतदानस्थल संशोधन गर्न सिफारिस गरेकोमा सोही अनुसार ४ वटा मतदाता स्थल सारिएको हो ।
निर्वाचन अधिकृत काउचाका अनुसार नारायण नगरपालिका–९ को देउतीस्थान साँडुलाई ९ नंं. वडा कार्यालय भवन सारिएको छ । गुराँस गाउँपालिका–१ मा रहेको महिला सामुदाियक भवनमा मतदान स्थललाई १ नं. वडा कार्यालय भवनमा मतदान स्थल सारिएको छ ।
त्यस्तै, दुल्लू नगरपालिका–८ मा रहेको पौवा हनुमान आधारभूत विद्यालय पौवा र भैरवी गाउँपालिका–४ मा रहेको वडा कार्यालय भवनलाई गौरी मावि बालेकाँडा मतदानस्थल सारिएको निर्वाचन अधिकारी काउचाले बताइन् ।
निर्वाचन अधिकारी काउचाका अनुसार खुल्ला ठाउँमा रहेका र बाटोको नजिक परेका चारवटा मतदान स्थललाई साविकको ठाउँबाट सारिएको बताइन् । त्यस्तै, जिल्लामा ३ वटा नयाँ मतदान स्थल थप गरिएको उनले बताइन् ।
थपिएका मतदान स्थलहरु आठविस नगरपालिका–३ मा रहेको नेरामावि कुमालखाडा जाक्सी, नारायण नगरपालिका–८ मा दिपशिशु आवि सिमडा र चामुण्डाविन्द्रासैनी नगरपालिका–१ मा पञ्चकोशी आवि पाल्त नयाँ मतदानस्थल थप गरिएको जनाइएको छ ।
जिल्लाका ५८ वटा मतदान स्थलको सामान्य त्रुटी सच्चाइएको जनाइएको छ । सामान्यतया मतदान स्थलको नाम फरक परेका स्थलहरुको त्रुटी सच्याइएको जनाइएको हो ।
नामावली संकलन स्थगित
शुक्रबार (अर्थात साउन २० गते) देखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन रोकिएको हो ।
यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति (आज) शनिबारसम्म काम हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
उनका अनुसार आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा देशभर १० लाख मतदाता थपिने आयोगको आँकलन रहेको छ । स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेका थिए । आयोगले असार १ देखि मतदाता नामावली संकलन कार्य सुरु गेरको थियो ।










